यी हुन सक्छन् ‘हनिमुन’का लागि उत्कृष्ट गन्तव्य
विवाह बन्धनमा बाँधिएका धेरै जोडी
मधुमास (हनिमुन)मा जाने गर्दछन् । हनिमुन एकअर्कालाई नजिकबाट बुझ्ने मौका पनि हो ।
पछिल्लो समयका नवजोडीलाई हनिमुन जानु अनिवार्य जस्तै भएको छ ।
आजकल हनिमुनका लागि नेपाली
नवविवाहित जोडी विदेशका विभिन्न स्थानमा समेत जान थालेका छन् । नेपालभित्र पनि
हनिमुनका लागि नयाँ–नयाँ
गन्तव्यको पहिचान भइरहेको छ । जहाँ नवजोडीहरु एकअर्कामा प्रेम साट्न पुग्ने क्रम
बढ्दो छ ।
नेपालका कतिपय ट्राभल
एजेन्सीहरुले विदेशमा हनिमुन प्याकेज त चलाउने गरेका छन् । तर नेपालभित्रकै
पर्यटकीय क्षेत्रहरुमा भने धेरै ट्राभल एजेन्सीहरुले हनिमुन प्याकेज राख्ने गरेका
छैनन् । त्यसैले आफैंले उचित ठाउँ रोजेर हनिमुन मनाउन जानुपर्छ । तर हनिमुन
मनाउनका लागि कुन ठाउँमा जाने र कसरी जाने ? केही आकर्षक
मधुमास गन्तव्य यहाँ उल्लेख गरिएको छ ।
खप्तड
धनगढीदेखि डोटीको सिलगढीसम्म करिब
८ घण्टाको बस यात्रा र त्यसपछि पैदलयात्रा गरेर खप्तड पुगिन्छ । बगलेगसम्म जीप पनि
चल्ने भएकाले जीप रिजर्भ गरेर पनि जान सकिन्छ । डोटीको सिलगढीदेखि शुरु भएको पैदल
यात्राको पहिलो दिन झिगराना पुगिन्छ र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज
प्रवेशसँगै त्रिवेणी मन्दिर पुगिन्छ । विशाल फाँटहरूमा फुल्ने रंगीचंगी फूल र
फाँटछेउमा मिलाएर रोपेका जस्ता देखिने रुखहरू खप्तड क्षेत्रका प्रमुख विशेषताहरू
हुन् । खप्तड क्षेत्रमा खप्तड बाबाको कुटी, त्रिवेणी
नदी, खप्पर दह जस्ता आकर्षक ठाउँहरु छन् ।
बडीमालिका
बडीमालिका सुदूरपश्चिम प्रदेशमा
पर्ने मनमोहक पर्यटकीय गन्तव्य हो । बाजुरा जिल्लाको विशाल फाँटहरुका बीचमा सुन्दर
हिमालको दृश्यावलोकन गर्न सकिने यो क्षेत्र धार्मिक एवं पर्यटकीय हिसाबले आकर्षक
गन्तव्य हो । बडीमालिकाको यात्रा ७ देखि ९ दिनसम्मको उपयुक्त हुन्छ । धनगढीबाट
बाजुरा, मार्तडी वा बाम्का बजार, त्रिवेणी
हुँदै बडीमालिका पुग्न सकिन्छ । यो पैदलमार्ग जानुपर्ने हुन्छ । तर त्यहाँ पुगेपछि
मनमोहक र मादक ठाउँको दृश्यावलोकन गर्दा यसले पैदल यात्राको थकान भुलाउने गर्छ ।
नवविवाहित जोडीको लागि यो ठाउँ आकर्षक हनिमुन गन्तव्य बन्न सक्छ ।
रारा
पश्चिम नेपालको प्रवेशद्वार
नेपालगञ्ज विमानस्थलबाट सोझै मुगुको ताल्चा विमानस्थलसम्म हवाईजहाजमा जान सकिन्छ ।
त्यसपछि रारा तालको किनारमा पुग्न तीन घण्टासम्मको पैदल यात्रा तय गर्नुपर्छ ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीसम्म सार्वजनिक बसमा जान सकिन्छ । त्यसपछि दुई
घण्टाको यात्रामा धर्तीको स्वर्ग भनिने रारा पुग्न सकिन्छ । हिउँदको मौसममा एक
मिटरसम्म हिउँ पर्ने हुँदा यहाँको तापक्रम शून्यभन्दा पनि तल झर्ने गर्छ । त्यसैले
यो समयमा धेरै मान्छे घुम्न जाने गर्दैनन् । तर पनि हनिमुन मनाउन रारा जाने
जोडीहरु पनि भेटिन्छन् ।
बर्दिया राष्ट्रिय निकुञ्ज
नवविवाहित जोडीको लागि बर्दिया
राष्ट्रिय निकुञ्ज पनि आकर्षक गन्तव्य बन्न सक्छ । पूर्वपश्चिम राष्ट्रिय निकुञ्ज
अन्तर्गत् बर्दिया जिल्लामा पर्ने यो ठाउँ गन्तव्यको हिसाबले अत्यन्त सुगम
क्षेत्रमा पर्छ । बर्दिया जिल्ला निकुञ्जभित्रै खुलेका कतिपय होटलहरुमा आकर्षक
सुविधा पाइन्छ । बर्दिया राष्ट्रिय निकुञ्जसँगै केही पर रहेको कैलालीको चिसापानी
एवं निकुञ्जभित्रका विभिन्न गन्तव्यहरु पनि आकर्षक गन्तव्यभित्र पर्छ ।
रानीमहल
पाल्पाको रानीमहल पनि नवविवाहित
जोडीको लागि उचित गन्तव्य हो । खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा बनाएको यो
ऐतिहासिक ठाउँ अहिले प्रेमको प्रतीकको रुपमा चिनिन्छ । यहाँ विवाहअघि पनि
प्रेमीप्रेमिकाहरु प्रशस्तै जाने गर्छन् । सँगै बगेकी कालीगण्डकी एवं आसपासको
दृश्य आफैंमा प्रेमिल एवं मादक देखिन्छन् । त्यसैले यो विवाहपछि पनि हनिमुनको लागि
यो क्षेत्र उत्कृष्ट मानिन्छ ।
बुटवलबाट ३९ किलोमिटर सडक
यात्रापछि पाल्पा सदरमुकाम तानसेन पुगिन्छ । तानसेनबाट १३ किलोमिटर थप यात्रा
गरेपछि रानीमहल पुग्न सकिन्छ । तानसेन बजारबाट बिहान ८ बजे एउटा जीप रानीमहलका
लागि छुट्छ । यसका साथै मोटरसाइकल लगायत अन्य निजी सवारीसाधनमा पनि त्यहाँ पुग्न
सकिन्छ । पैदलयात्रा गरेर पनि तानसेनबाट करिब ३ घण्टामा रानीमहल पुग्न सकिन्छ ।
घान्द्रुक
घान्द्रुक कास्की जिल्लामा पर्ने
चर्चित पर्यटकीय गन्तव्य हो । गुरूङहरुको उदाहरणीय बस्ती रहेको यो क्षेत्र
होमस्टेको लागि चर्चित छ । यहाँको संस्कृति र वातावरणीय सुन्दरताले पनि यहाँ
नवविवाहित जोडीले रमाइलो तरिकाले हनिमुन मनाउन सक्छन् ।
६ हजार ७०० फिट उचाइमा रहेको
घान्द्रुक पुग्न कास्कीको नयाँपुलमा गाडीबाट ओर्लिएपछि करिव पाँच घण्टा पैदल
हिँड्नुपर्छ । यो मार्गबाट हिँडेर घान्द्रुक पुग्न धेरै पर्यटकहरु लालायित हुन्छन्
। जाडो सकिने बेला घान्द्रुक पुग्ने पर्यटकले वनपाखामा फुल्ने राताम्मे गुराँसको
मोहकता देख्न पाउँछन् । यहाँका सबै होटलको सेवा सुविधामा एकै किसिमको दर तय गरिएको
छ । घान्द्रुकमा पुग्ने कोही पनि पर्यटकले आफ्नै रोजाइमा सेवा र सुविधा प्राप्त
गर्न सक्छ ।
बन्दीपुर
चिसो र प्रेमिल मौसममा नवविवाहित
जोडीको लागि हनिमुन मनाउन बन्दीपुर पनि आकर्षक गन्तव्य हो । अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरि
लगायतका हिमशृंखला स्पष्टसँग देखिने बन्दीपुर सांस्कृतिक र पर्यटकीय दुवै हिसाबले
अनुकूल छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी
मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर र सूचना केन्द्रलगायतका स्थल यहाँ आउने
पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ । बन्दीपुरमा होटेल संघसँग आबद्ध
सानाठूला गरी ८ दर्जनजति होटल सञ्चालनमा छन् । त्यसैले त्यहाँ परम्परागत शैलीदेखि
अत्याधुनिक शैलीसम्मका होटल सुविधाहरु पाइन्छ ।
मुस्ताङ
मुस्ताङ जाडो मौसममा धेरैको
रोजाइमा त पर्दैन । तर पनि चरम चिसोको मौसममा आफ्नो वैवाहिक उत्सवको शुरुवात गर्ने
चाहना भएकाहरुलाई भने जोमसोम पनि आकर्षक गन्तव्य हो । अहिलेको समयमा जोमसोमसम्मै
हिउँले ढपक्कै ढाकिसकेको हुन्छ, त्यसैले
जनजीवन अलिक कठिन हुन सक्छ । तर आनन्दको हिसाबमा मनै भुलाउने आनन्द यहाँ पाउन
सकिन्छ ।
घरपझोङ गाउँपालिकाको केन्द्र
जोमसोम बजारदेखि दक्षिण पश्चिम करिब दुई किलोमिटरको दूरीमा पर्छ । सोही ठाउँमा छ
मनोरम ठिनी गाउँ । ठिनी गाउँबाट पश्चिम करिब १ किलोमिटर दूरीमा छ– अनुपम प्रकृतिको उपहार ‘ढुम्बा ताल’ छ । हिउँदको समयमा यस तालमाथि दुई फिटसम्म हिउँ जम्ने गर्छ ।
जमेको हिउँले रङ पनि फेर्ने गरेको छ । हिउँ जमेको बेला पर्यटकले तालमाथि पैदल
हिँडेर मनोरञ्जन लिने गर्छन् ।
चित्लाङ
काठमाडौंबाट नजिकै मकवानपुर
जिल्लामा पर्ने चित्लाङ पनि नवविवाहित जोडीको लागि उत्कृष्ट हनिमुन गन्तव्य स्थल
हो । काठमाडौंबाट सिधा जाँदा २७ किलोमिटर र कुलेखानी हुँदै जाँदा ६० किलोमिटरको
दूरीमा रहेको यो ठाउँ पनि होमस्टे र विभिन्न स्थानीय खानाको लागि चर्चित छ । दिनभर
शान्त र शीतल वातावरणमा मनोरम प्राकृतिक दृश्यावलोकनका साथै ऐतिहासिक सांस्कृतिक
महत्वको गाउँ भ्रमण, होमस्टे र
रिसोर्टमा क्याम्प फायरदेखि नाचगान, चुस्कीको
चियर्समा रमाउनको लागि पनि यो ठाउँ उपयुक्त हुन्छ ।
यहाँ गाउँमै उत्पादित नास्पातीको
रक्सी र वाइनको मज्जा लिन सकिन्छ भने कुलेखानीको माछादेखि करेसामा रोपिएका साग, चनालगायत जाँतोमा पिँधेको अन्नको स्वाद चाख्नको लागि पनि
चित्लाङ सही गन्तव्य हो ।
कालिञ्चोक
दोलखा जिल्लामा पर्ने कालिञ्चोक
धार्मिक यात्रासँगै रमणीय दृश्यावलोकनका लागि आकर्षक गन्तव्य मानिन्छ । कालिञ्चोक
भगवतीको मन्दिर रहेको यो ठाउँबाट आकर्षक हिमशृंखला देख्न सकिन्छ । नवविवाहित जोडीको
लागि पनि यो ठाउँ हनिमुनको लागि उपयुक्त देखिन्छ । यो ठाउँमा काठमाडौं लगायत
नजिकैको शहरबाट पनि हिउँदमा हिउँ खेल्न धेरै पर्यटकहरु आउँछन् ।
दोलखाको हुँदै जाने यो ठाउँमा
माघदेखि फागुन पहिलो सातासम्म बाक्लो हिमपात हुन्छ । कुरी बजारबाट एक घण्टाको
उकालो छिचोलेपछि कालिञ्चोक भगवती मन्दिर पुगिन्छ । समुद्री सतहबाट ३ हजार ८४२ मिटर
उचाइमा अवस्थित कालिञ्चोक भगवती काठमाडौंको शोभा भगवती, काभ्रेको पलाञ्चोक भगवतीसहित सात दिदीबहिनीमध्येको एक रहेको
जनविश्वास छ ।
जनकपुर
प्रदेश २ को राजधानी जनकपुरधाम
पनि हनिमुनका लागि राम्रो गन्तव्य बन्न सक्छ । जनकपुरधाम मुख्यतः धार्मिक शहरको
रुपमा प्रसिद्ध छ । यहाँको जानकी मन्दिर, आकर्षक ताल
तलैयाको अवलोकन गर्दै हनिमुनको समय बिताउन सकिन्छ ।
कोशी टप्पु
विराटनगरबाट करिब ५० किमी उत्तर–पश्चिम र धरानबाट करिब ४० किमी दक्षिण–पश्चिममा पर्ने कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्र नवविवाहित
जोडीको लागि अर्को उत्कृष्ट गन्तव्य बन्न सक्छ । सुनसरी, उदयपुर र सप्तरी जिल्लामा फैलिएको कोशी टप्पुमा पाइने चरा, अर्ना र सिमसार भूमि विश्वमै प्रसिद्ध छन् ।
कात्तिकदेखि फागुनसम्म अर्ना र
चराको संसार घुमघाम र दृश्यावलोकनका लागि बढी उपयुक्त मानिन्छ । यो अवधिमा
चराहरूको भीडले कोशी टप्पुको रौनक नै अर्कै हुन्छ । अझै हात्ती चढेर आरक्षण र
नजिकैका गाउँ घुम्दाको मज्जै बेग्लै हुन्छ । तमोर, अरुण र
सुनकोशी मिसिएको सप्तकोशी यहाँको अर्को आरक्षण हो । यहाँ खान बस्नको राम्रो
व्यवस्था रहेकाले पनि यहाँ नवविवाहित जोडीको लागि यो ठाउँ उपयुक्त हुन सक्छ ।
धरान–भेंडेटार
पहाडको लजालु वातावरण एवं तराईको
उष्ण गर्मीको नजिकै अनुभव लिनको लागि धरान र भेंडेटार आकर्षक गन्तव्य बन्न सक्छन्
। धरानदेखि १६ किलोमिटर उत्तरमा पर्ने भेंडेटारको मुख्य विशेषता भनेकै घाम र
बादलको लुकामारी हो । समुद्री सतहदेखि १ हजार ४२० मिटर उचाइमा रहेको भेंडेटारको
मौसम सदाबहार चिसो हुन्छ । पूर्वी तराई र भारतका उत्तर प्रदेश, बिहार राज्यका घुमन्तेहरुको मुख्य गन्तव्य स्थल भेंडेटार
पछिल्लो समय नेपालीहरुको लागि पनि मुख्य आकर्षणको केन्द्र मानिन्छ ।
कन्याम
इलाम नेपालकै मुख्य आकर्षक
पर्यटकीय गन्तव्य हो । झनै नवविवाहित जोडीको लागि त कन्याम जानै पर्ने गन्तव्य हो
। बिर्तामोडबाट करिब ४० किलोमिटर उत्तरतर्फ मेची राजमार्गमै पर्ने यो ठाउँ भुइँ
कुहिरोले ढपक्क ढाक्ने र छिनछिनमै मौसम परिवर्तन हुने गर्छ । यहाँ सुविधासम्पन्न
होटल र रेस्टुरेन्टहरु उपलब्ध छन् ।